विद्युत् अभावका कारण श्रीलंकाका विद्यालय एक साताका लागि बन्द


काेलम्बाे – चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ । श्रीलंका सरकारले एक साताका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

श्रीलंकाको शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै डेली मिररले लेखेको छ, ‘लामो समयसम्म विघुत् कटौतीले भएको असुविधाका कारण कोलम्बो शहरको सीमाका साथै अन्य प्रान्तका मुख्य शहरहरूका सबै सरकारी तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।’

मन्त्रालयका सचिव निहाल रणसिङ्घेले भने, ‘विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गर्दै डिभिजन स्तरका विद्यालयहरूले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई यातायातको कठिनाइले असर नपर्ने अवस्थामा कम सङ्ख्यामा विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न पाइने छ ।’

अनलाइन शिक्षण सुविधा दिन बिहान ८ बजेदेखि १ बजेसम्म विद्युत् कटौती नगर्न प्राधिकरणसँग सहमति भएको पनि उनले बताए ।

श्रीलंका यस वर्षको मार्चदेखि आर्थिक सङ्कटको चपेटामा परेको छ । कडा विरोधका कारण राजनीतिक अशान्ति उत्पन्न भएको छ । महिन्दा राजपाक्षले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि मे महिनामा राष्ट्रपति गोटाबाय राजपाक्षले रनिल विक्रमसिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । एजेन्सी

प्रतिक्रिया