

निर्वाचनको तयारीमा जुट्यो कांग्रेस, संसद विघटन सदर गरेको अदालतको आदेश पर्खँदै!

काठमाडौं– प्रतिनिधि सभा विघटनको आन्तरिक बहसमा रहेको नेपाली कांग्रेसले निर्वाचनको तयारी थालेको छ। त्यसैको पूर्वतयारीका रुपमा वडा तहसम्मका विरोधका कार्यक्रममा निर्वाचनको तयारीको बहस पनि चलाइएको छ।
नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतले चुनाव भए पनि संसद पुनःस्थापना हुनुपर्ने धारणा राखिरहेका बेला सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायत भने अहिले अदालतमा विचाराधिन रहेको विषयमा बोल्न नहुने बरु निर्वाचनको तयारीमा जुट्नुपर्ने पक्षमा छन्।
सभापति देउवाले अदालतको आदेश जे आउँछ त्यसका आधारमा नै कांग्रेस अगाडि बढ्ने बताए पनि निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइसकेका छन्।
महाधिवेशनअघि नै निर्वाचन हुने भएकाले त्यसको तयारी थाल्न उपसभापति निधिले पनि निर्देशन दिएका छन्। गृहजिल्ला धनुषामा पुगेका उनले भने,‘निर्वाचनपछि महाधिवेशन हुन्छ। हामी निर्वाचनको तयारीमा लागेका छौं। अदालतको निर्णय चाँडो आउनुपर्छ।’
नेकपा विभाजनको अवस्थामा रहेका कारण १७ र २७ वैशाखका लागि घोषणा भएको निर्वाचनमा कांग्रेसको बहुमत आउने आँकलनका साथ निर्वाचन क्षेत्रमा खटिनका लागि सभापति देउवाले पनि निर्देशन दिइसकेका छन्।
५ पुसमा विघटन भएको प्रतिनिधि सभा पुनःस्थापनाको माग राखिएका रिट सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छन्। सर्वोच्चको संवैधानिक इजलाशमा उक्त रिटबारे २९ पुसमा छलफल हुँदैछन्।

