आईसीसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ३९ रनले पराजित


काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। बुधबार राति सम्पन्न खेलमा अमेरिकाले घरेलु मैदानमा नेपाललाई ३९ रनले हराएको हो।

टेक्ससको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा टस जितेको नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरमा अमेरिकाले सात विकेट गुमाएर २४५ रनको योगफल तयार पार्‍यो।

जवाफी ब्याटिङ गरेको नेपाल २०६ रनको स्कोरमा पुग्दा ४७.४ ओभरमै अलआउट हुन पुग्यो। १४ बल अगावै आउट भएर नेपाल २४६ रनको लक्ष्यमा पुग्न सकेन्।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले। सोमपाल कामीले ४७, देव खनालले ३४ रनको योगदान गरे। आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेलले १० रन जोडे।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए।टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाका लागि २४५ रनको योगफल तयार पार्न गजानन्द सिंहले ५८ रन र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेले। आरोन जोन्सले ४३, सैटिजा मुक्कामल्लले ३६, निसर्ग पटेलले १८ रन र क्यामरुन स्टेभेनसनले १६ रनको योगदान गरे।

नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।
यसअघि सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको थियो। त्यस्तै ओमानसँग भएको पहिलो खेलमा १३ रनले पराजित भएको नेपालले दोस्रो खेलमा सात विकेटले पराजित गर्दै सहज जित निकालेको थियो।

लिग-२ अन्तर्गत १६ खेल खेलेको नेपालले १५ अंक जोडेको छ।

प्रतिक्रिया