

नेपालको खेल क्षेत्रमा रसियाले सहयोग गर्ने
खेलकुदमन्त्री गहतराजको रसिया भ्रमण

काठमाण्डौं – रसियाले नेपालको खेलकुद क्षेत्रका विविध पक्षमा सहयोग गर्ने भएको छ । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँगको भेटमा रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री अथकले दुईदेशीय हितको विषयमा छलफल भएको बताएका छन् ।
मन्त्री अथकसँगको भेटमा रसियाली खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबैदेशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया ईच्छुक रहेको बताएका छन् ।
भेटमा मन्त्री अथकले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा भ्रमणले खेलकुद कुटनीतिमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरे ।
उनले खेललाई कुटनीतिको प्रमुख अङ्ग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहको भन्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए ।
नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता ब्यक्त गर्दै मन्त्री अथकले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” फलदायी हुने विश्वास ब्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारीत हुने बताए । नेपाली प्रतिनिधी मण्डलले रसियाका मार्सल आर्टस संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिए।
छलफलमा अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पुर्वाधार, बक्सिङ्ग एमेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताएका थिए । रुसको भ्रमणमा रहेको मन्त्री अथकको टोली शुक्रबार मात्र नेपाल फर्कने भएको छ ।

