

इण्डोनेशिया र चिलीको लगानीका लागि महासंघको आग्रह

काठमाडाैं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित पदाधिकारीहरू र नेपालका लागि इण्डोनेशियाका राजदुत हेरू हर्तान्तो सुवोलोबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, महानिर्देशक गोकर्ण राज अवस्थीको उपस्थिति रहेको थियो ।
त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष दिनेश श्रेष्ठसंग नेपालका लागि चिलिका राजदुत जुआन रोलाण्डो अङगुलो मोनसाल्भेले महासंघ सचिवालयमा भेटवार्ता गरे ।
ती दुवै भेटवार्तामा महासंघकातर्फबाट नेपालमा इण्डोनेशिया र चिलीको लगानीका लागि कुटनीतिक माध्यमबाट सहयोग हुन आग्रह गरिएको थियो । दुवै मुलुकसंग नेपालको द्विपक्षीय व्यापारको आंकडा अत्यन्त न्यून रहेको पाइन्छ ।
महासंघमा उपलव्ध पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपाल इण्डोनेशिया बीचको आयात–निर्यात क्रमशः रू. १७ अरव – रू. २६ करोड देखिन्छ भने नेपाल चिली आयात–निर्यात क्रमशः रू.९ करोड – रू.९३ लाख मात्र छ । संयुक्त लगानी नगण्य नै देखिन्छ ।
तथ्यांक अनुसार नेपालमा इण्डोनेशियाको रू. ३५ करोड र चिलीको रू. ३० करोडको मात्र संयुक्त लगानी रहेको छ । भेटवार्तामा द्विपक्षीय व्यापार विस्तारमा विशेष जोड दिइएको थियो ।

