
नेपालको लगातार दोस्रो हार, एसियन कपमा छनोट हुने सम्भावना सकियो
काठमाडौं- एएफसी एसियन कप छनोट प्रतियोगितामा नेपाल शनिबार राति घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ। यो हारसँगै चीनमा आयोजना हुने एसियन कपमा छनोट हुने नेपालको सम्भावना समाप्त भएकाे छ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा घरेलु टोलीले २८औं मिनेटमा अग्रता लिएको थियो। कुवेतले फहाद हम्मौद अल रशिदीले गरेको गोलबाट अग्रता लिएको थियो। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध खेलेको टोलीमा आज कुनै परिवर्नत गरेका थिएनन्। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो।
४८ औं मिनेटमा युसेफ नासेरले कुवेतको अग्रता दोब्बर बनाए। कुवेतको दोस्रो गोललगत्तै नेपालका मुख्य प्रशिक्षक अल्मुताइरी टच लाइनमै ढलेका थिए। अल्मुताइरीलाई मैदानमा प्राथमिक उपचारपछि अस्पताल भर्ना गरिएको छ। उनलाई अक्सिजन दिएर लगिएको थियो। मुटु सम्बन्धी विरामी रहेका अल्मुताइरीको विस्तृत विवरण भने आएको छैन।
केहीबेर पश्चात खेल पुनः सुरु भएको थियो। ५७औं मिनेटमा नवयुग श्रेष्ठले राम्रो अवसर खेर फाल्दा नेपालले गोल अन्तर कम गर्ने मौका गुमाएको थियो। आयुष घलानको पासमा नवयुगले विपक्षी एक रक्षकलाई कटाएर पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।
७०औं मिनेटमा नासेरले व्यक्तिगत दोस्रो गोल थपे। त्यसको तीन मिनेट नबित्दै मोबारेक अल फनिनिले अर्को गोल थपेपछि नेपाल ४–० ले पछि परेको थियो। इन्जुरी समयमा बैकल्पिक खेलाडी दर्शन गुरुङले गरेको गोल नेपालका लागि सान्त्वना बन्यो। दर्शन ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।
हारपछि नेपालको सम्भावना समाप्त भएको छ। समूह ‘ए’मा नेपाल अंकबिहीन छ। नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। कुवेत भने यसअघि इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो । समान तीन अंक जोडेको इन्डोनेसिया, जोर्डन र कुवेत क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। नेपालले समूह चरणको अन्तिम खेल इन्डोनेसियासँग मंगलबार राति खेल्नेछ।



कागजपत्र |
