दिनभर प्रसारण लाइनको तारमा बसेका व्यक्तिको उद्धार

प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी


काठमाडाैं – विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभरि विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका-७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी
नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ ।

मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।

बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

‘हाम्रो अहिले देखिएको नोक्सानी एक करोड रुपैयाँभन्दा धेरै देखिएको छ, यसबाट भएका अरु नोक्सानीको त कुरै छाडौँ ’ प्रवक्ता भट्टराईले बताए । दिनभर ६५ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणलाई माग धान्न मुस्किल परेको थियो । केही ठाउँमा लोडसेडिङ भएको थियो भने भारतबाट समेत आयात बढाइएको थियो ।

प्रतिक्रिया