आईजी सिंह भन्छन्, ‘अस्पतालले दर्जागत विनाविभेद उपचारको सुनिश्चितता गर्नुपर्छ’


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा आईजी सिंहले प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पादन गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताए ।

साथै उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेदविना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरे ।

उक्त अवसरमा सिंहले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतीक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटको अवलोकन गरे ।

सिंहले नेपाल प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ-आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए । विश्वमा भएका प्रविधिजन्य परिवर्तनलाई अंगालेर अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको उनले बताए ।

आईजी सिंहले विभिन्न आरोह अवरोह, समस्या र कठिनाइको सामना गर्दै विगत करिब ४० वर्षदेखि निरन्तररुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले कोभिड–१९ को संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको चर्चा गर्दै औषधिको गुणस्तर, पारदर्शी सेवा प्रवाहको साथै कमी कमजोरीमा सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए ।

विद्यमान सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन तथा अस्पतालको दीर्घकालीन विकासको लागि सुधारका क्षेत्र पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्न उनले निर्देशन दिए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।

प्रतिक्रिया