बाजुराको सीडीओमा प्रकाशचन्द्र अधिकारी, सम्पुर्ण सुरक्षाकर्मीको नेतृत्व फेरियो


काठमाडौं – बाजुरामा प्रमुख जिल्ला अधिकारी सहित सम्पुर्ण सुरक्षाकर्मीको नेतृत्व फेरीएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।

पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल प्रहरीको डिएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरीको डिएसपी गङ्गादत्त पन्तलाई बाजुरा पठाइएको छ । निर्वाचन अधिकृतको रूपमा लक्ष्मण बहादुर कडायतलाई पठाइएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी हामी पूर्ण तयारीका बसेका छौँ ।’

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी अनुसार नयाँ सुरक्षा टोली, नयाँ निर्वाचन अधिकृत लगायत निश्चित भइसकेको जानकारी दिए । यसैगरी निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्रीसमेत बाजुरा पठाइसकिएको उनले बताए ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि पुनः निर्वाचन गर्न लागिएको हो । बूढीगंगाका केही वडाहरूमा काँग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।

प्रतिक्रिया