तयार भयाे बलेवा विमानस्थल, सञ्चालन गर्ने कसरी ?


बागलुङ – बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज बागलुङको बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ ।

विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफलमा परामर्शदाता समूहका प्रमुख डा. जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताए । ‘विमानस्थलको स्थलगत अध्ययन, अवलोकन गर्‍यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ’, उनले भने, ‘सरकारले करोडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्न हुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ ।’

मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने शाहको भनाइ थियो ।

बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्नेमा जोड दिए । यसअघि २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उनको भनाइ थियो । ‘व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन’, सचिव चोखालले भने, ‘धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफैँ उकासिन्छ ।’

बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव दिए । ‘कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पुर्‍याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ’, उनले भने ।

२०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आए पनि त्यसले निरन्तरता पाउन सकेन । २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौं, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए। यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो ।

पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ । अब त विमानस्थल नियमित चल्छ कि भन्ने आशमा स्थानीयवासी छन् । तर, विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुङ्गो भने लागेको छैन ।

प्रतिक्रिया