

राप्रपासँग एकीकरण हुनसक्छः राप्रपा नेपाल अध्यक्ष थापा

विराटनगर – राप्रपा अध्यक्षमा पराजित भइसकेपछि पार्टी छाडेर राप्रपा नेपाललाई गति दिएका अध्यक्ष कमल थापाले राप्रपासँग एकीकरण हुनसक्ने बताएका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका हुन् ।
‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ,’ उनले भने ।
पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।
थापाले नेपालको धरातलीय यथार्त र जनभावना अनुसार राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भैसकेको दाबी गर्दै राप्रपाका नेता कार्यकर्तालाई भने, ‘यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ ।’

