नेपालको लज्जास्पद प्रदर्शन, ८ रन बनाउँदा अलआउट !


मलेशिया – मलेशियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले युएईसँगको खेलमा लज्जास्पद प्रदर्शन गरेको छ ।

मलेसियाको यूकेएम ओभलमा युएईविरुद्ध ब्याटिङ गरेको नेपाल ८ रन जोड्दा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।

नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १र१ रन जोडिन ।

अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए ।

युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।

शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार  मलेसियाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया