संसद् विघटनपछि संविधानको गलत टीकाटिप्पणी गर्ने काम भयो : नेता पौडेल


दमौली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टीकाटिप्पणी गर्ने काम भइरहेको बताएका छन्। कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (क) ले शनिबार शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उनले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गरे ।

केन्द्रीय सदस्य पौडेलले नेपालको सङ्घीयता गतिशील ढङ्गले अगाडि बढ्न नसक्नाको कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताए । ‘नेपाली कांग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएका थिए । त्यो निर्वाचन जित्नका लागि मात्र थियो’, उनले भने । कांग्रेसका नेतृत्वमा आएको संविधान रक्षा गर्न कांग्रेस तत्पर रहेको पौडेलले बताए ।

संसद् विघटनका विरोधमा कांग्रेस तनहुँले शनिबार चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ क्षेत्र नं १ (क) को भानु नगरपालिकास्थित बाइसजाँगरमा, (ख) को आँबुखैरेनीमा, तनहुँ क्षेत्र नं २ (क) को खैरेनीटारमा र (ख) को घिरिङमा विरोधसभा सम्पन्न भएको छ ।

प्रतिक्रिया