प्रचण्डको सचिवालयले भन्यो : जनप्रतिनिधिलाई कुनै होटलमा डिनर आयोजना गरिएको छैन


काठमाडाैँ- राजधानीको कमपोखरीस्थित कुमारी हलमा आयोजित माओवादी केन्द्रको प्रशिक्षणका लागि सहभागी भएका जनप्रतिनिधिहरुलाई रात्रिभोज दिने समाचारहरु बाहिरिएपछि पार्टीका नेताहरुले त्यसको बचाउ गरेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले होटलमा पार्टी भन्ने हल्लाको पछि नकुद्न आग्रह गरेका छन्।

कमलपोखरीमा उपस्थित जनप्रतिनिधिलाई रात्रिभोज आयोजना गर्ने समाचारहरु बाहिरिएको थियो। चौतर्फी आलोचना सुरु भएपछि प्रचण्डको सचिवालय सहित केन्द्रीय नेताहरुले कुनै रात्रिभोज आयोजना नगरिएको बताएका छन्।

‘होटलमा ‘डिनर’ भन्ने हल्लाको पछि नकुद्न साथीहरूलाई आग्रह छ’ मल्लले सामाजिक सञ्जालमार्फत भनेका छन्।त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले पनि होटलमा कुनै पार्टी नराखेको बताएका छन्।

‘हिमालय होटलमा माओवादीले कुनै पार्टी राखेको छैन। अन्यत्र कतै पनि छैन’ चौलागाईंले भनेका छन्। त्यस्तै, वाईसीयल इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पनि कुनै डिनरको आयोजना नगरेको बताएका छन्।

‘नेकपा माओवादी केन्द्रले आज कुनै डिनरको आयोजना गरेको छैन। भ्रममा नपरौं’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। माओवादी केन्द्रका जनप्रतिनिधिहरुलाई हिमालय होटलमा रात्रिभोज दिन लागेको समाचार आएसँगै आलोचना भएको थियो।

प्रतिक्रिया