लकडाउन हटेपछि शङ्घाईवासीले सडकमा नाचगान गरेर उत्सव मनाए


शङ्घाई सहर – चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ ।

साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर हिँडडुल गर्न दिइएको हो । शङ्घाई महानगरकी प्रवक्ता यिन शिनले लामो समयदेखि कामना गरिरहेको दिन आज प्राप्त भएको बताएका छन् ।

कोरोना सङ्क्रमण भएका व्यक्ति र सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै मानिस अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भन्दै उनले सङ्क्रमण देखिएको क्षेत्रमा भने फेरि लकडाउन हुन सक्ने बताए । नगरवासीहरूले घरबाट बाहिर निस्किँदा उनीहरू सङ्क्रमित नरहेको पहिचान स्वरूप मोबाइलमा हरियो कोड देखाउनुपर्छ ।

सरकारले सङ्क्रमित नभएका व्यक्तिको मोबाइलमा हरियो कोड उपलब्ध गराएको हुन्छ । यदि कुनै व्यक्ति सङ्क्रमितको सम्पर्कमा पुगेमा उसको मोबाइलमा रहेको हरियो काेड स्वतः हट्छ । शङ्घाईबाट बाहिर जान भने अझै पनि प्रतिबन्ध रहेको छ ।

अर्को सहरबाट शङ्घाई पुग्नेले अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्छ । विद्यालय, चलचित्र घर, सङ्ग्राहलय र व्यायाम घर भने अझै बन्द छन् । लकडाउन सकिएपछि शङ्घाईका बासिन्दाहरूले उत्सव मनाएका छन् । मानिसहरू सडक छेउमा भेला भएर नाचगानसमेत गरेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया