स्वतन्त्रलाई कांग्रेसकै भर

काठमाडौं महानगर, धनगढी र जनकपुर उपमहानगरमा कांग्रेस बहुमतमा, धरानमा एमाले पहिलाे दल


काठमाडौं – स्वतन्त्रबाट एक महानगर र तीन उपमहानगरमा मेयर जितेकाहरुले ठूलो दल नेपाली कांग्रेस र गठबन्धन दलकै समर्थन र सहयोगको भर गर्नु पर्ने भएको छ ।

मुलुकका ६ महानगर र ११ उपमहानगरपालिकामध्ये काठमाडौं महानगरपालिका, धनगढी, जनकपुर र धरानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यी नगरको नगरकार्यपालिकामा भने प्रमुख दल कांग्रेसकै जनप्रतिनिधिको बहुमत वा बाहुल्यता देखिएको छ ।

काठमाडौं महानगरपालिका, जनकपुरधाम, र धनगढी उपमहानगरमा नेपाली कांग्रेस एक्लैको नगरकार्यासमितिमा बहुमत छ भने धरानमा नेकपा एमाले ठूलो दलको हैसियतमा रहेको छ । महानगर, उपमहानगर र नगर कार्यसमितिमा नगरका प्रमुख र उपप्रमुख तथा सबै वडाका अध्यक्षहरु नगरकार्यसमितिका सदस्यहरु रहेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना निर्णयहरु महानगर कार्यपालिकाबाट निर्णय गराउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरुकै भर पर्नु पर्ने अवस्था देखिएको छ । ३२ वडा रहेको काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर नजिते पनि नेपाली कांग्रेसले १९ वडाध्यक्ष जिताउन सफल भएको छ ।

काठमाडौं महानगरमा एमालेले एक उपमेयर र १२ वडाध्यक्षमा जित हासिल गरी महानगर कार्यपालिकामा १३ सदस्यलाई जिताउन सफल भएको छ । काठमाडौंको १५ नम्वर वडामा भने नेकपा एसका इश्वरमान डंगोल विजयी भएका छन्।

धनगढी उपमहानगरको प्रमुखमा विजयी भएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि आफ्ना योजना र निर्णय कार्यान्वयनका लागि नेपाली कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षको साथ, सहयोग र समर्थनको खाँचो देखिएको छ ।

धनगढीमा १९ वडा छन् जहाँ एमालेले उपप्रमुख र ६ वडाध्यक्ष तथा माओबादीले २ वडाध्यक्ष जिताउन सफल भएको छ ।
जनकपुरधाम उपमहानगरको प्रमुखमा विजयी भएका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी नेपाली कांग्रेसबाट उपप्रमुखमा विजयी किशोरी साह र १२ जना वडाध्यक्षको समर्थन लिनु पर्ने बाध्यता छ ।

यो उपमहानगरमा २५ वडा रहेका छन् । यहाँ एमालेले ७, माओबादी केन्द्र र लोकतान्त्रिक समाजबादीले २–२ जना वडाको अध्यक्षमा जितेका छन् । जनता समाजबादी र तमलोपाले १–१ वडामा चित्त बुझाएका छन् ।

जनकपुरधाम उपमहानगरमा दुई जना कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार भएका १० र २३ नम्वको वडाध्यक्षमा निर्वाचितहरुले आफूहरु कांग्रेसकै जनप्रतिनिधिको एजेण्डामा साथ दिने बताएको अवस्थामा यो उपमहानगरमा कांग्रेसको स्पस्ट बहुमत रहेको देखिन्छ ।

धरान उपमहानगरका २० वडामध्ये १० वडामा नेकपा एमालेले जितेको छ । धरानको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ राई विजयी भएका छन् । तर सत्तारुढ गढबन्धनमा आबद्ध नेपाली कांग्रेसले ७ वडाध्यक्ष, माओबादी केन्द्रले एक उपप्रमुख र एक वडाध्यक्ष, राप्रपाबाट एक वडाध्यक्ष गरी उपमहानगर कार्यासमितिमा १० सदस्य जेखिएका छन् । एउटा वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष छन् ।

धरान उपमहानगरको कार्यसमितिमा मेयर र एक वडाध्यक्ष स्वतन्त्र भएको अवस्थामा सबैभन्दा ठूलो दल नेकपा एमालेबाट निर्वाचित नगरकार्यसमिति सदस्यहरुको भूमिका महत्वपूण देखिएको छ ।

 

प्रतिक्रिया