

निजगढ विमानस्थल निर्माण गर्न रोक लगाउनु दुखद : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउने प्रक्रियाका सबै कामलाई रोक लगाउनेगरी सर्वोच्च अदालतबाट फैसला आउनु दुस्ख लाग्दो रहेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष नेपालले विमानस्थल बनाउन रोक लगाउने कुरामा सबै राजनीतिक दल गम्भीर हुनुपर्ने बताए। उनले यदि तर्क तथ्यको आधारमा केके कुराले रोकेको हो? भन्दै प्रश्नसमेत गरे।
उनले विमानस्थलको गहिरो अध्ययन गरेर अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा विमानस्थलमा रोक लगाउने विषयमा एकपटक छलफल गर्नुपर्ने बताए।
‘मैले पटक–पटक निजगढ विमानस्थलको भ्रमण गर्ने, निरीक्षण गर्ने मौका पनि पाएको हो। त्यहाँ सुरुमा जाँदाखेरी अलिकति वरिपरी जग्गा थियो त्यहाँ। अहिले पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन्। जंगल छदै छैन त्यहाँ। जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडिको कारण के हो? कतै अरु अरु चिजबाट हामी प्रभावित त भएका छैनौँ ? यस बारेमा गहन चिन्तन होस्, उनले भने, ‘ त्यो निर्णयको बारेमा पनि सम्बन्धित निकायले आफैले पनि त्यस बारेमा बिचार गरोस्। र नेपाल सरकारले यसलाई गम्भीरताका साथ, राजनीतिक दलहरुले गम्भीरताका साथ यसबारेमा कसरी अगाडी बढ्न सकिन्छ, त्यसमा जानुपर्ने आवश्यकता छ। निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त छ। त्यहाँ वन विनाशलाई असर पारेको छैन। वन्यजन्तुको आगमनलाई पनि असर पारेको छैन। त्यसबारेमा म नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहान्छु।’
बिहीबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै निजगढमा विमानस्थल नबनाउन आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा।मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने सबै निर्णय बदर गर्दै विमानस्थल चाहिए अर्को विकल्प खोज्न आदेश दिएको छ। अदालतले निमार्ण नगर्न आदेश दिएसँगै सरकारले गरेको लगानी खेर गएको छ।
निर्माण क्षेत्रको पूर्व र पश्चिम सिमानामा पर्ने २ वटा खोलामा आउने बाढीले विमानस्थलमा क्षति नपुगोस् भनेर ‘वाल’ लगाइएको थियो। एयरपोर्ट बन्ने ठाउँको चारैपट्टि सडक बनाइएको थियो। कालोपत्रे गर्ने तयारीका लागि चारैपट्टि बनाइएका सडकलाई ग्राभलिङ गरिसकिएको थियो।

