चिनी निर्यात रोक्ने भारतको तयारी
काठमाडौँ- भर्खरै गहुँ निर्यात रोकेको भारतले अब चिनी निर्यात पनि रोक्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरेको हो।
यदि चिनी निर्यात रोके यो पहिलोपटक हुनेछ । मोदी सरकारले बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम उठाउनलागेको हो । निर्यात गर्दा मूल्य काबुबाहिर गएको भारत सरकारको ठहर छ।
केही दिनअघि मात्र गहुँमा निर्यात रोक लगाइएको थियो । रोयटर्सका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरिरहेको छ । पूर्ण रोक नलगाए पनि चिनीको निर्यात सीमा एक करोड टन राखिनलागेको समाचारमा जनाइएको छ।
चीन निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ । यदि भारतले चिनी निर्यात रोके धेरै देशका लागि टाउको दुःखाइ बन्न सक्नेछ।
भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन्।
त्यस्तै भारतमा उत्तरप्रदेश, महाराष्ट्र र कर्णाटकमा सबैभन्दा धेरै चिनी उत्पादन हुन्छ । यी तीन राज्यमा हुने उत्पादन नै ८० प्रतिशत छ। यसबाहेक आन्ध्रप्रदेश, गुजरात, मध्य प्रदेश, उडिसा, तमिलनाडु, विहार, हरियाणा र पञ्जाबमा पनि चिनी उत्पादन हुने गरेको छ।