

काठमाडौँ महानगरको उपमेयर पदमा दोहोर्याएर मतगणना गर्न निवेदन

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले पुनः मतगणना गर्न निवेदन दिएका छन् ।
उपप्रमुख पदमा नेपाली काँग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत सङ्केतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।
काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहोर्याएर गर्न मागसहितको श्रेष्ठको निवेदन परेको बताए ।
काठमाडौँ महानगरपालिका उपप्रमुख ठुलो संख्यामा मत बदर भएको छ । आइतबार दिउँसोसम्म मात्र उपप्रमुखमा ३६ हजार मत बदर भएको थियो । तीमध्ये ५० प्रतिशत रुख र कलम दुवैमा मत सङ्केत गरिएका छन् ।
मुख्य निर्वाचन अधिकृत खतिवडाले भने गणना विधिवत् ढङ्गले नै भइरहेको बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिका अनुसार नै मतगणना गरिरहेका छौँ । निर्देशिकामा एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुई वटा मत सङ्केत भएको छ भने उम्मेदवार भएको वा नभएको जुनमा सङ्केत भए पनि बदर गर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार हामीले मत सदर वा बदर गर्दै आएका छौँ ।’
यसमा कुनै पनि निर्णय गर्न आवश्यक नरहेको खतिवडाले प्रस्ट्यायो ।
‘निवेदकलाई हामीले मौखिक रूपमा यसमा कुनै पनि निर्णय हुँदैन भनिसकेका छौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसमा केही पनि सम्बोधन हुन सक्दैन । उहाँले माग गरेको कुरा निर्देशिकाबाहिरको हो ।’

