पोखरामा फुडमाण्डूको सेवा विस्तार


पोखरानेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए । उनले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको बताए । गुणस्तरीय सेवासहित हामी आएका छौँ अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ ।

मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई  विस्तारै बढाउँदै लगिने छ । कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड१९ लगायतका कारणले विस्तारमा ढिला भएको जानकारी दिए । हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ, तर कोभिड१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो, उनले भने ।

अधिकारीले सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनाअनुरूप काठमाडाँैबाहिर पोखराबाट शुरु गरिएको बताए । उनले सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रूपमा अघि बढाउने योजना रहेको बताए । कार्यक्रममा रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवाले पोखरेली ग्राहकलाई सहज हुने विश्वास व्यक्त गरे । उनले फुडमाण्डूको सेवा उपलब्ध हुँदा रेष्टुरेन्टलाई समेत व्यापार विस्तार हुन सहज हुने बताए । सेवा विस्तारको अवसरमा फुडमाण्डूले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।

(रासस)

प्रतिक्रिया