ओलीकाे गृहनगर दमकमा राप्रपाका थापा मेयरमा विजयी

३५ वर्षदेखि पराजित थापाले निकाले गठबन्धनबाट जित


झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा सत्तारुढ गठबन्धनका दलहरुको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा प्रमुखमा बिजयी बनेका छन् ।

राप्रपाका थापाले १७ हजार पाँच सय २७ मत ल्याएर विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी गीता अधिकारीले १६ हजार ९ सय ६६ मत ल्याएकी छन् ।

गठबन्धनको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी रेजिना प्रसाइँ भट्टराईले १७ हजार ७२ मत ल्याई विजयी बनेकी छन् । उनले एमालेका अम्विकाप्रसाद खनाललाई पराजित गरेकी हुन् । खनालले १६ हजार ६ सय ७४ मत ल्याएका छन् ।

नगरका १० वटा वडामध्ये राप्रपाले ७ नम्वर वार्ड र नेपाली कांग्रेसले ४ र १० नम्वर वार्डअध्यक्षमा जित हासिल गरे भने वाँकी वडा नम्वर १,२,३,५,६,८ र ९ मा एमालेले वडाध्यक्षसहित सबै सदस्यमा विजय हासिल गरेकाे छ।

दमक नगरपालिकाको मेयरमा राप्रपाबाट राम थापा, उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाइँ र नगरका १० वटा वडा तीन दलले भागबण्डा गरेका छन् । राप्रपाले मेयरमा थापासहित वडा नं १ र ७ मा उम्मेदवार उठाएकोमा १ मा पराजित भएको छ ।
कांग्रेसले उपमेयरमा प्रसाईँसहित ३,४, ५ र १० नम्वर वडाको वडाध्यक्ष पाएकोमा ३ र ५ नम्वर वडामा पराजित भयो । माओबादी केन्द्रले वडा नंम्वर २, ६, ८ र ९ वडाध्यक्ष पाएकोमा कतै पनि जित निकाल्न सकेन ।

जीवनभर पराजित थापाले जव जीत निकाले

राप्रपा एक नम्वर प्रदेश प्रमुखमा गत वर्ष निर्वाचित भएका थापा लामो समय राप्रपाका पूर्वअध्यक्ष कमल थापासँग निकट नेताको रुपमा चिनिन्छन् । तर उनले राजेन्द्र लिङ्देन अध्यक्ष भएको राप्रपा छाडेर कमल थापालाई यस पटक भने रोजेनन् । उनी दमक र झापाको राजनीतिमा पटक पटक गरी पाँच पटक उम्मेदवार भएर पराजित बन्दै आएका नेता हुन् ।

दमकको लागि केही गर्छु भन्ने उदेश्य राखे पनि आफू विगत ४० वर्षदेखि जीवनभर पराजित हुँदै आएको बताउने थापाले पराजयबाट निरास भने कहिल्यै नभएको बताउँछन् ।

थापा २०४३ सालमा दमक नगर पञ्चायतको प्रधानपञ्च, २०५४ साल र २०७४ सालमा दमक नगरपालिकाको मेयर र २०५६ सालमा जिल्ला बिकास समिति झापाको उपसभापतिमा उम्मेदवार भएर पराजित बनेका थिए ।

थापालाई २०६२ सालमा भने तत्कालिन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको मेयरमा मनोनित गरेका थिए । गत २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका रोम ओलीसँग झण्डै दुई हजार मतान्तरले पराजित थापा सँधै उपविजेता बन्दै आएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा रोम ओलीले करिव साडे १० हजार मत ल्याउँदा थापाले करिव साडे आठ हजार मत ल्याएका थिए । दमक नगरको सो निर्वाचनमा माओबादी केन्द्र तेश्रो र कांग्रेसका उम्मेदवारको चौथो पोजिसन थियो ।

विगत तीन वर्षयता एमालेले विजय हासिल गरेको दमकमा राप्रपाका उम्मेदवारले जित हासिल गर्नुलाई एमालेको लाल किल्ला ढलेको गठबन्धनका दलका नेताको बुझाई छ । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो गृह नगर दमकमा अन्तराष्ट्रिय औद्योगित क्षेत्र, भ्यु टावर, रंगशाला, सभागृह निर्माण लगायतका क्षेत्रमा गरी ५० अर्ब बढीको योजना समाबेस गरेका छन् ।

 

प्रतिक्रिया