चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण


जुम्ला – जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन ।

प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित नगरप्रमुख राजुसिंह कठायतले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताए ।

त्यस्तै उपप्रमुख रामदेवी खड्काले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने प्रतिबद्धता गरिन् ।समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिएकी थिइन् ।

उनले भौतिक विकाससँगै सामाजिक विकासलगायत नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जोड दिइन् ।चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् । जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

प्रतिक्रिया