
महान्यायाधिवक्ता खरेलले गरे तीन कारागारका कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण
काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उपत्यकाका ३ कारागारलाई पुस्तक हस्तान्तरण गरेका छन् । खरेलले एक कार्यक्रम बीच काठमाडौं उपत्यकास्थित तीन वटा कारागार कार्यालयका प्रमुखहरूलाई कैदीबन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गरेका हुन् ।
खरेलले कारागार कार्यालय, डिल्लीबजार, काठमाडौं, कारागार कार्यालय, नख्खु, ललितपुर र कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंलाई ती कारागारमा रहेका कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्न पुस्तकालय प्रयोजनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट रु १लाख १७ हजार मुल्य बराबरका पुस्तक प्रदान गरिएको हो ।
महान्यायाधिवक्ताले कारागार कार्यालय, डिल्लीबजारका जेलर गणेश आचार्य, कारागार कार्यालय, नख्खुका जेलर मोहन अधिकारी र कारागार कार्यालय, जगन्नाथदेवलका जेलर लक्ष्मीप्रसाद बाँस्कोटालाई कैदी बन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरेका थिए ।
महान्ययाधिवक्ता खरेलले कारागारमा रहेका कैदीवन्दीको मानव अधिकारको संरक्षण, कैदीवन्दीको मानवोचित व्यवहारको अवस्था र कारागारहरूको भौतिक सुधारका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कारागार कार्यालयहरूको अनुगमन गरी सम्बन्धित निकायलाई निर्देशन दिने गरिएको बताए । उनले भने, ‘कारागारमा कैदीलाई कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने भएकाले कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्दा सकारात्मक प्रभाव पर्छ ।’
उक्त अवसरमा कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कारागारमा रहेका कैदीवन्दीहरूलाई अध्ययन गर्ने वातावरण सिर्जना गरी कैदीवन्दीमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने बताए ।



कागजपत्र |
