

सन्जु चौधरीको शव गृहजिल्ला नेपालगन्ज पठाउने

काठमाडौं – भारात्तोलनतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगन्ज पठाइने भएको छ ।
सन्जुको शव गृहनगर पठाउने नेपाल भारात्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए । त्यसअघि घरेलु भूमिमा भएको १३औँ सागमा भारात्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौँ । लगत्तै शवलाई नेपालगन्ज पठाउँछौँ,’ श्रेष्ठले भने ।
अहिले सन्जुको शव पाटन अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् ।
अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुन्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।
सन्जु सागमा भारात्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २४ वर्षीय सन्जु हाल चीनमा हुने १९औँ एसियाली खेलकुदको तयारीमा थिइन् ।

