

नेपाल–जिम्बाबे एकदिवसीय क्रिकेटः नेपाललाई जितका लागि ८८ रनको लक्ष्य

काठमाडौं – नेपालले जिम्बाबेविरुद्धको दोस्रो एकदिवसीय खेलमा ८८ रनको लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले करण केसी र सोमपाल कामीको उत्कृष्ट सुरुवातसँगै जिम्बाबेलाई ३१.५ ओभरमा ८७ रनमा अलआउट गरेको हो ।
नेपालका लागि केसी र कामीले समान ३/३ विकेट लिए । त्यस्तै नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए भने सागर ढकालले १ विकेट लिए भने जिम्बाबेका एक खेलाडी रनआउट भएका थिए । केसीले ८ ओभरमा ३ मेडन राख्दै १७ रन खर्चिएर ३ विकेट लिएका थिए ।
त्यस्तै सोमपाल कामीले ७ ओभरमा १६ रन खर्चिएर ३ विकेट हात पारे । कप्तान लामिछानेले ८.५ ओभरमा १ मेडन राखेर २६ रन खर्चिएर २ विकेट हात पारेका थिए भने ढकालले ८ ओभरमा २७ रन खर्चिएर १ विकेट हात पारे ।
इनिङको पहिलो बलमै करण केसीले विकेट लिएपछि सम्हालिएर खेल्न नसकेको जिम्बाबेले कुनै पनि समय खुलेर खेल्न सकेको थिएन ।
जिम्बाबेका लागि जोनाथन क्याम्बेलले २७ रन बनाए भने ब्राड इभान्सले अविजित २० रन बनाए । त्यस्तै सेफ्स जुहाउले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् ।
नेपालले ५० ओभरमा ८८ रनको लक्ष्यसहित केही बेरमा ब्याटिङ सुरु गर्ने भएको छ ।
यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाबेसँग ३ विकेटले पराजित भएको थियो ।

