

गठबन्धनकै दलका भातृ संगठन तरूण दल र वाइसिएलबीच झडप, ५ घाइते

रुकुम – पश्चिम रूकुमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका भातृ संगठन नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ।
शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्। दुबै पक्षका ५०÷६० जनाको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार तरूण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन्।
तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन्। वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्।
घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अरूको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको सोतीले जानकारी दिए।
देशैभरदेखि संघीय सत्ता सञ्चालनका लागि गठबन्धन गरेका यी दुई दलबीच रुकुम पश्चिममा भने विवाद देखिँदै आएको छ ।

