

बाजुरामा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडाैं – बाजुराको बुढीनन्दा नगरपालिका- ९ मा चुनाव प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरु भएको बताइएको छ ।
काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए । एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।
प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ । प्रहरीतर्फ तीन जना र नेपाली काँग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

