हिमानी पनि आइपुगिन्, अब पूर्वराजा ज्ञानेन्द्र कता?


इटहरी– मुलुकमा राजनीतिक संकट गहिरिएका बेला राजावादी संघसंस्थाले प्रदर्शनको क्रम जारी राखेका छन्। देशका विभिन्न ठाउँमा यस्ता विरोधमा कार्यक्रम जारी छन्।

यसबीचमा अघिल्लो साता मात्र झापाको दमकमा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न राजनीतिक भेटलाई तिव्रता दिएका छन्। पत्नी तथा पूर्वरानी कोमल शाहसँग आइपुगेका उनले केही गैरराजनीतिक कार्यक्रममा सर्वसाधारणसँग पनि दिन बिताए।

नयाँ बर्ष २०२१ को स्वागत उनले झापाको धुलाबारीमा रहेको मेची क्राउन पाँचतारे होटलमा गरेका थिए। त्यसपछि उनी दमकस्थित हिमालय टि स्टेटस्थित निवासमा नै बसेका छन्।

भारत भ्रमणको समेत तयारी गरेका उनी नयाँ दिल्ली जाने सोचमा छन्। त्यसका लागि झापामा बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबार आइपुगेकी छन्। छोरा हृदयेन्द्र शाहसहित उनी झापामा आइपुगेको बताइएको छ।

‘पूर्वयुवराज्ञी पछाडी आइपुग्नु भएको हो, पारिवारिक भेटघाट, राजनीतिक र गैरराजनीतिक कुराकानी पनि हुने बताइन्छ’, झापास्थित स्रोतले भन्यो। बुहारी र नातीसमेत लिएर पूर्वराजा भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। अन्य दुई नातिनी पूर्णिका र कृतिका भने अध्ययनका लागि थाइल्यान्ड पुगिसकेको बताइन्छ।

प्रतिक्रिया