रेणुलाई जिताउनु कांग्रेसको कर्तव्यः सभापति देउवा


चितवन — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी स्थानीय तह निर्वाचनमा भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए ।

भरतपुर महानगरको मेयरका रूपमा रेणुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेणुले हारे चितवनका जनता रिसाउने बताए ।

‘रेणुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ’, देउवाले भने ।

उनले रेणु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गरे । भरतपुरको विकासका लागि रेणुले अघि सारेका योजना हेर्दा जनतामा पपुलर देखिएको पनि देउवाको दाबी छ ।

प्रतिक्रिया