

बीस दिनमा विपद्का घटनाबाट १८ जनाको मृत्यु, २८ करोडभन्दा बढीको आर्थिक क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ ।
वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६ वटा विपद्का घटना रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । पछिल्लो २० दिनमा आगलागीका २३३, जंगल आगलागीका ४२, हावाहुरीका ३४, चट्याङका २४, जनावरको आक्रमणका ९ वटा घटना रेकर्ड गरिएको थियो ।
विपद्का घटनामध्ये आगलागीमा परी ८, चट्याङ लागेर ६, जनवारको आक्रमणबाट २ र पहिरो र हावाहुरीका घटनामा परी एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले बताएको छ ।
विपद्का घटनामा परी ७९ जना घाइते भएका छन् भने ४७३ परिवार प्रभावित भएका छन् ।
विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीले गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो बीस दिनमा आगलागीबाट २६ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँ, जंगल आगलागीबाट १ करोड ५ लाख ७० हजार रुपैयाँ, हावाहुरीबाट ७१ लाख ४० हजार रुपैयाँ, चट्याङबाट ४ लाख १३ हजार रुपैयाँ र जनावरको आक्रमणबाट ३ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

