नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि


काठमाडाैं – क्वेस्ट इन्टरनेसनल कलेजले आफ्ना संस्थापक निर्देशक नारायणप्रसाद श्रेष्ठको स्मृतिमा पाँचौं ‘नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता’ बुधवारदेखि सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टोलीको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पुरुष सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट छन् । महिला स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुनेछ । राउन्ड रोविनमा शीर्ष २ स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् ।

महिलातर्फ क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायमको सहभागिता रहने छ । पुरुष विधाको विजेताले ५० हजार र उपविजेताले ३० हजार तथा महिलातर्फ पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालन गर्न करीब ५ लाख रुपैयाँ खर्च हुने क्वेस्टका निर्देशक आदर्श जोशीले जानकारी दिए । वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

प्रतिक्रिया