अटेरी अभियानका एक जना पक्राउ
पोखरा – पोखरामा अटेरी अभियानी अशोक खड्का पक्राउ परेका छन् । अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने मागसहित प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।शनिबार खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर आफूहरूलाई लौरो चिन्ह नदिएकोमा विरोध जनाएका थिए ।
प्रहरीले सोही आधारमा पक्राउ गरेको हो । पोखरामा सात जना मेयरका स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन कानुनअनुसार उम्मेदवार संख्या र चिन्हको पहिलो संख्याबाटै रोज्नुपर्ने प्रावधान छ । तर, खड्कालगायत मेयरका उम्मेदवारहरूले आठौँ नम्बरमा रहेको लौरो चिन्ह पाउनुपर्ने बताएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुनविपरीत चिन्ह दिन नमिल्ने बताएपछि उनीहरू आक्रोशित भएका हुन् । तर लामो गन्जागोलपछि निर्वाचन आयोगले नै पोखराको मतपत्र छाप्न बाँकी रहेकोले लौरो दिन सकिने बताएको थियो । त्यसपछि सहमति भएर फर्किएका टोलीका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनले निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने बताएका थिए । उनको भिडियो अहिले पनि फेसबुकमा छ । ‘स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या,’ उनले भनेका थिए, ‘हामीले लौरो चिन्ह पायौँ भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ ।’
डीएसपी सुन्दर तिवारीले खड्का पक्राउ परेको पुष्टि गरे । ‘हिजोको अभिव्यक्तिले उहाँलाई पक्राउ गरेका हौँ । उनले निर्वाचनमा आपत्तिजनक अभिव्यक्ति दिएको छ । हुलहुज्जत गरेका छन्,’ उनले भने, ‘निर्वाचनको शान्तिलाई खलल पुर्याएकोले पक्राउ गरेका हौँ ।’ उनको पक्राउमा पोखराका अटेरी अभियान्ताहरूले विरोध जनाएका छन् ।