स्थानीय निर्वाचनः स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्नमा खसीको टाउकोदेखि गुलाबको फूलसम्म


काठमाडौं – निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचनका लागि देशभरि विभिन्न पदमा मनोनयन दर्ता गरेका डेढ लाख उम्मेदवारमध्ये १२,७८९ स्वतन्त्र उम्मेदवार छन्।

कुनै पनि दलसँग आबद्ध नभएका वा दलको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरूले शनिवार निर्वाचन पाउनेछन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिवार उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका स्वतन्त्र उम्मेदवारहरूलाई शनिवार निर्वाचन चिह्न प्रदान गरिने बताए।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिने जानकारी दिएको छ।

‘आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामा स्वतन्त्र निर्वाचन चिह्नको समूह राखेको छ। त्यहीअनुसार कुन जिल्लामा कति लहरको मतपत्र हुने हो त्यहीअनुसार राखिन्छ,’ निर्वाचन आयोगका मुख्य कानुनी सल्लाहकार गुरुप्रसाद वाग्लेले भने।

तर सबै जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई ४० प्रकारकै चिह्नमध्येबाट छान्ने सुविधा नहुने वाग्ले बताउँछन्। ‘कुन जिल्लामा कतिवटा स्वतन्त्र निर्वाचन चिह्नको चिह्नको समूह कति वटा रहने भन्ने चाहिँ आयोगले निर्णय गरेर राखेको छ,’ उनले भने।

कस्ताकस्ता निर्वाचन चिह्न ?

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो र खसीको टाउकोदेखि गुलाबको फूलसम्म निर्वाचन चिह्न तय गरेको छ।

स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ। त्यसको पहिलो नम्बरमा पुतली छ भने सबैभन्दा अन्तिम नम्बरमा पानी तान्ने कल राखिएको छ।

आयोगले बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कङ्गारूदेखि बँदेलसम्मका जनावर स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्नमा राखेको छ। दलहरूले यसअघि नै रोजेका चिन्हहरूमा पनि जनावरहरू छन्।

स्वतन्त्र उम्मेदवारले छान्न पाउने निर्वाचन चिह्नमा काग, चील, हाँसजस्ता पन्छी देखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल पनि छन्।

निर्वाचन चिह्नमा आयोगले खसीको टाउको, भ्यागुतो, लाल्टिन, मुढा र घण्टाघर पनि समेटेको छ। स्वतन्त्र उम्मेदवारहरूले तिलहरीजस्ता गरगहना, चोलो र फ्रकजस्ता लुगाफाटोसम्म निर्वाचन चिह्न पाउन सक्छन्।

आयोगले ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेँसी र कपप्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्री पनि निर्वाचन चिह्नका रूपमा राखेको छ।

चिह्नमा लौरो, खानेपानीको धारा, टायर, रिक्सा र सिरिन्ज पनि छन्।

प्रतिक्रिया