काठमाडौँबाट साउदीको रियादसम्म सिधा उडान सुरु


साउदी – नेपाल एयरलाइन्सले काठमाडौँबाट साउदीको रियादसम्म सिधा उडान सुरु गरेको छ।

रियादका लागि निगमको वाइड बडी ए३३० विमानले गत शुक्रबार पहिलो उडान भरेको हो। साउदीसँग कूटनीतिक सम्बन्ध स्थापनाका ४५औँ वर्षका अवसरमा नेपालले राष्ट्रिय ध्वजावाहकले समेत दुई देश जोडेको हो।

नेपाल एयरलाइन्सले साउदी उडान सुरु गरेको उपलक्ष्यमा रियादस्थित होटेल र्‍याडिसन ब्लुमा भव्य कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरणमा र बजार विस्तारमा निगम लागिपरेको बताए। उनका अनुसार पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा उक्त उडान प्रबन्ध मिलाइएको हो।

पूर्व मन्त्री एवं सांसद महेश बस्नेतले निगमले काठमाडौं–रियाद उडान सुरु गर्नु ऐतिहासिक दिन रहेको बताए। साउदीस्थित नेपाली कार्यवाहक राजदूत दिलीप पौडेलले राष्ट्रिय ध्वजावाहक उडान सञ्चालनका लागि धेरै समयको मेहनतबाट सफल भएको अवगत गराए।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साउदी उडान उचित गन्तव्य रहेको उल्लेख गर्दै यसले निगमलाई आर्थिक रूपमा टेवा पुग्ने धारणा राखे।

काठमाडौँबाट रियाद उडानका लागि वाइड बडी र न्यारोबडी दुवै जहाजले स्लट पाएका छन्। काठमाडौं–रियाद उडान अवधि ६ घण्टा १५ मिनेट हुनेछ। रियाद–काठमाडौं भने ४ घण्टा ५० मिनेटमा पुगिनेछ। निगमले रियादका लागि सातामा तीन उडान भर्नेछ।

प्रतिक्रिया