कोटेश्वरस्थित डेरामा गोली र नक्कली सुन राखेको आरोपमा दुईजना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित नरेफाँटमा डेरामा बस्ने प्रमिला तामाङको घरमा वैशाख ७ मा गोली र नक्कली सुन भेटियो । सुनमाया श्रेष्ठको घरमा डेरा लिएर बसेकी प्रमिला लामो समयसम्म नआएपछि घरधनीको आग्रहमा महानगरपालिकाले कोठा खाली गराएको थियो ।

कोठा खाली गराउँदा पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र ‘१ केजी फाइन गोल्ड’ लेखिएको पहेँलो धातु फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट सो डेराधनी भोजपुर नगरपालिका-१ घर भएकी ३५ वर्षीया प्रमिला तामाङ र गोरखा घर भएका ३३ वर्षीय विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

डेराबाट बरामद गरिएको धातु नक्कली सुन रहेको परीक्षणबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । सो डेरामा नेपाली सेनाको जर्सी र नसिलाएको कम्ब्याट पनि भेटिएको थियो । गौशाला स्थित एक होटलबाट पक्राउ परेकी प्रमिलाले सैनिक अधिकारीसँग विवाह गरेकी थिइन् ।

ती सैन्य अधिकृतसँग डिभोर्स भएको र कोठामा भेटिएको गोली उनले नै छाडेको प्रमिलाले प्रहरीलाई बताएकी छिन् ।प्रमिलासँगै पक्राउ परेका विशाल काठमाडौंको गोङ्गबुमा बस्छन् ।​ आरोपीहरू विरुद्ध प्रहरीले हातहतियार तथा ‘ठगी गर्ने नहुने’ कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया