६ महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार छान्ने जिम्मा देउवालाई


काठमाडौं । नेपाली कांग्रेसले पाँच दलिय गठबन्धनमा रहेका दलसँगको सहमति बमोजिम कांग्रेसको भागमा परेको तीन वटा महानगरका प्रमुख र वाँकी तीन वटा महानगरका उपप्रमुखको उम्मेदवार छनोट गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तरग बिराटनगर, काठमाडौं र ललितपुर महानगरको प्रमुख पदको उम्मेदवार छनोट गर्ने जिम्मा देउवालाई दिएको हो ।

पार्टीको बिधानअनुसार महानगर कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा आएको नाममध्येबाट बीरगंज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवारको छनोट गर्ने जिम्मा सभापति देउवाको काँधमा गएको हो ।

बैठकले पार्टी विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवम् केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय गरेको छ ।

महानगरको प्रमुख र उपप्रमु्खमा पार्टीभित्रैबाट आकांक्षीको सख्या बढेपछि बैठकले सभापति देउवालाई महानगर प्रमुख र उपप्रमुख छनोट गर्ने जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया