डब्लूएचओ महानिर्देशक टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नुभएका डब्लूएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लूएचओको महत्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणका लागि समय निकाल्नुभएकोमा खुसी व्यक्त  गरे । अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठिन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै भने– ‘विशेषगरी कोभिड–१९ महामारीको समयमा तपाईंको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछौं ।  यो योगदानलाई विश्वले सधैं सम्झिरहनेछ ।’

डब्लूएचओले स्थापनादेखि नै विश्वकै जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशतले पूर्ण खोप लगाइसक्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य हासिल गर्ने बाटोमा रहेको उल्लेख गर्दै भने – ‘यस महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराउनु भएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहान्छु ।’

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकहरूमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराएका छन् ।

उनले अन्तर व्यवस्थापिका संघको १४४औं सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लूएचओले ध्यान दिनुपर्नेमा जोड दिए । उहाँले नेपाली जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्ल्यूएचओ कन्ट्री अफिस, डब्ल्यूएचओ एसईआरओ र सम्पूर्ण डब्ल्यूएचओ प्रणालीको प्रशंसा गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन नेपाल सरकार लागिपरेको बताए ।

नेपालस्थित डब्लूएचओको कार्यालयले विभिन्न महत्वपूर्ण काम गरेको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो आग्रहमा कोभिड–१९को जोखिमबारेको प्रभावकारी सूचना प्रवाहमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

त्यसै गरी अध्यक्ष तिमिल्सिनले महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । त्यसै गरी भेटका क्रममा डब्लूएचओका महानिर्देशक टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताको रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए । भेटमा संघीय संसद्का तर्फबाट महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाललगायत समेत सहभागी थिए ।

प्रतिक्रिया