अक्सिजन प्लान्ट विस्फाेट हुँदा २ जनाकाे मृत्यु


ललितपुर – ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा २ जनाकाे मृत्यु भएको छ । भारतीय नागरिक राजकुमार महतोको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसअघि भारतकै नागरिक वृजकुमार महतोको घटनास्थलमै ज्यान गएको थियो । घटनामा घाइते भएकामध्ये पाँच जना डिस्चार्ज भएका छन् । एक जनाको भने उपचार भइरहेको छ ।

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज बिहीवार बिहान अक्सिजन भर्ने क्रममा विष्फोट भएको प्रहरीको भनाइ छ । यसैबीच गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।

यस्तै दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताए । उनले घाइतेहरुलाई सरकारले उपचार गर्ने पनि प्रतिबद्धता जनाए।

प्रतिक्रिया