राष्ट्रपति भण्डारीसँग डब्लुएचओका महानिर्देशकले शिष्टाचार भेटवार्ता गर्ने


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपालमा भोलि (वैशाख ८ गते) नेपाल आउन लागेका डब्लुएचओका महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नेछन् । उनी भोलि अपराह्न १२ः२५ बजे नेपाल आउनेछन् ।

उनीहरुबीच वैशाख ९ गते बिहान १०ः३० बजेदेखि १०ः५० बजेसम्म राष्ट्रपति भवन शीलत निवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । वैशाख ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान १० बजेदेखि १०ः२० मिनेटसम्म भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै डब्लुएचओका महानिर्देशक डा टेड्रोसले भोलि वैशाख ८ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन थालेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

यस्तै महानिर्देशक डा गेब्रेयससले वैशाख ९ गते बिहान ११ बजे पाटन माध्यमिक विद्यालय र हनुमानढोका तथा पाटन दरबार पनि भ्रमण गर्नेछन् । यस्तै नेपालमा रहँदा उहाँले मन्त्रालयका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी वैशाख १० गते फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया