मुम्बईमा भगत सिंहसँग प्रचण्डको भेट हुन सक्छ!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारतको मुम्बई जाने भएका छन्। पत्नी सीता दाहालको उपचारार्थ बिमानबाट नयाँ दिल्ली हुँदै मुम्बई जान लागेका उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग भेट हुन सक्ने आँकलन गरिएको छ।

नेपालमा राजनीतिक संकटकाबीच पत्नी सीताको उपचारका लागि मुम्बई पुग्न लागेका प्रचण्डको साथमा छोरी गंगा दाहाल पनि हुने बताइएको छ। कोसीयारी नेपाल मामिलाका जानकार पनि मानिन्छन्। गभर्नर हुनुअघि भारतीय जनता पार्टीका उपाध्यक्ष रहेका कोसीयारीसँग प्रचण्डको बेलामौका कुराकानी हुने गरेको थियो भने सम्बन्ध पनि बलियो रहेको छ।

नेपालमा राजनीतिक संकट सुरु भएपछि प्रचण्ड भारत भ्रमणमा जान सक्ने आँकलन गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तिव्र मतभेद र पार्टी विभाजनको संकट आएपछि प्रतिनिधि सभा भंग गरिएको थियो। प्रचण्डले विरोध सभामा ‘बैशाखपछि ओलीको पत्तासाफ हुनेवाला छ’ भनेका थिए। उनको अहिलेको नयाँ दिल्ली हुँदै मुम्बईसम्मको यात्रालाई उक्त भनाईको कसीमा समेत राखेर व्याख्या गर्न थालिएको छ।

प्रतिक्रिया