

महानगर र उपमहानगरको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, आजको बैठक निर्णायक हुने दाबी

काठमाडौं– सत्तारुढ गठबन्धनका पाँच दलबीचको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेपछि मंगलबार पुनः बस्न लागेको हो।
देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपरान्ह गरी दुईपटक बैठक बसेको थियो । तर, दुवै बैठकबाट सहमति जुट्न सकेन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए ।
प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि विशेष गरी पोखरा महानगरपालिका, कलैया र इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले दाबी गरेको छ। पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेपछि आजको बैठकले कुनै निर्णय गर्न नसकेको बैठकमा सहभागी एक नेताले बताए।
बैठक मंगलबार बिहान बस्नेगरी स्थगित भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि आइतबार बेलुका ६ महानगर र ११ उपमहानगरमा गठबन्धन दलले प्रारम्भिक खाका तयार गरेका थिए। ६ महानगरपालिकामध्ये कांग्रेसलाई ३, जसपालाई, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एकेक गरी भागबन्डा भइसकेको बताइको छ। तर, कसले कुन लिने भन्ने विषयमा भने सहमति जुट्न सकेन। कार्कीले मंगलबारको बैठक भने निर्णायक हुने बताए।

