विमानस्थलमा देखिएका समस्या सुधार्न गृहमन्त्रीको निर्देशन


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखलाई बोलाएर जानकारी लिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएका हुन् ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी थिए । प्रवक्ता पोखरेलले सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताए ।

त्यस्तै गृहमन्त्री खाँणले विमानस्थलभित्र रहेका बैंकका एटिएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिए । गृहमन्त्री खाँणले तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया