नेयमार र एमबाप्पेको गोलमा पिएसजीको जित


काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा ब्राजिली फरवार्ड नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले गोल गरे। लिग वानको ले क्लासिकमा पिएसजीले घरेलु मैदानमा मार्सेलाई २–१ ले हराएको हो।

पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा मार्सेका डुजे कालेटा कारले एक गोल फर्काए। खेलका तीनै गोल पहिलो हाफमा भएको थियो। खेलको १२औं मिनेटमा नेयमारको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो। उनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए। ३१औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए। दोस्रो हाफमा  दुबै टोलीबाट थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै पिएसजीको जितमा निर्णायक बन्यो।

यो जितले मौरिसियो पोचेटिनोको पिएसजी लिग वान च्याम्पियन बन्ने संघारमा पुगेको छ। लिग वानको ६ राउन्डको खेल बाँकी रहँदा पिएसजीले १५ अंकको स्पष्ट अग्रता बनाइसकेको छ।

पिएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ। अब पिएसजीले एन्जर्सविरुद्ध जित निकाल्न सके ६ खेल बाँकी छँदै लिग वानको च्याम्पियन बन्नेछ।

प्रतिक्रिया