दिल्लीलाई हराउँदै बैंगलोर तेस्रो स्थानमा उक्लियो


काठमाडौँ – दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ । शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै, कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हेजलवूडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो । बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले ५५ रनको योगदान गरे । जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया