

महाकाली नदी मिचेर भारतले बनायो बाँध

दार्चुला– दार्चुला सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारतले महाकाली नदी मिचेर जबरजस्ती पक्की तटबन्ध निर्माण थालेको छ। महाकाली बाढीले २०७० खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो।
भारतकै धौँलीगंगा बाँधका कारण ७ वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन्।
बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धार्चुलाबाट माइकिङ गरेर रोकेको थियो। सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो।
भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ। तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ।
दार्चुला जिल्ला प्रशासनले उक्त निर्माणकार्य रोक्न भारतको धार्चुला पिथौरागढका उपजिल्ला अधिकारीलाई २ पुसमा पत्राचार गरेको थियो। पत्रको बेवास्ता गर्दै निर्माणकार्य निरन्तर चलिरहेको छ। नदीतर्फ ढुंगामाटो उखेल्दै डोजरहरू चलिरहँदा नेपानी पक्ष मूकदर्शक भएर बस्नुपरेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘भारतले काम गरिरहेको छ भन्ने कुरा नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु। हाम्रो पत्रको सुनुवाई नभएपछि परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं।’ गृह र परराष्ट्र मन्त्रालयलाई २ पुसमा नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताए। सीमा नदीमा बिना समन्वय काम गर्न नहुने उनको भनाइ छ।
सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीद्वारा हस्ताक्षरित भारतलाई पठाइएको पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा २०७० असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल–भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारण नदी किनार रहेको सीमा नाका क्षेत्रको भौगोलिक स्वरूप परिवर्तन भएको छ।’
सो सम्बन्धमा यस जिल्लाको महाकाली नगरपालिका–५ गल्फै क्षेत्र भौरादगड, महाकाली नदी किनार रहेको जिल्ला अस्पताल दार्चुलाको सीमापारी भारततर्फ हाल सुरक्षारचेक बाल बाँध बनिरहेको स्थान महाकाली नदीमा बाढीपूर्व साविक नेपालतर्फकै भूमि रहेको तर उक्त स्थानमा एस्काभेटर, जेसीबी आदि उपकरणबाट उत्खनन गर्न थालेको देखिँदा नेपाल पक्षसँग आवश्यक समन्वय नभएको भनी रोक्नका लागि पत्रमा उल्लेख गरिएको छ।
महाकाली नदी किनारमा बनाउन लागिएको निर्माणकार्यलाई यथाशीघ्र रोक्न हुन जानकारीका लागि आदेशानुसार अनुरोध भएको पत्रमा उल्लेख छ। प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पनि सोही दिन यसबारे पत्राचार गरेको थियो। त्यहाँ एक सय हाराहारीमा कामदार खटिएका छन्।
महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेलले नेपालतर्फ पक्की संरचना बनाउँदा भारतले निर्माण रोकेको उल्लेख गर्दै भने, ‘उसले चाहिँ कसरी एक्लौटी गर्न सक्छ रु नेपालको भूमि हामी एक इन्च छाड्दैनौं।’
आयोजनाका तर्फबाट हुने पहलका लागि आफू जतिबेला पनि तयार रहेको उनले बताए। अहिले भारतले बाँध बनाइरहेको भूभाग नदीले धार परिवर्तन गरेभन्दा पहिला नेपालकै रहेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताए।
भारतले एकलौटी ढंगले महाकालीको जरैदेखि तटबन्ध निर्माण गर्दै जाने हो भने दार्चुलावासीको उठीबास हुने महाकाली नगरपालिका–५ का स्थानीय रघुबिरसिंह ठगुन्नाले बताए।
२०७० को बाढीले दार्चुलालाई तहसनहस गरेको थियो । नेपाल सरकारले कुटनीतिक पहल गरेर निर्माण कार्य यथाशीघ्र रोक्न लगाउनुपर्ने स्थानीयको माग छ।

