९ महिनामा ४६.८२ प्रतिशत मात्र बजेट खर्च
काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा सरकारले जम्माजम्मी ४६.८२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गर्न सकेको छ हो । यसअवधिमा सरकारको विकास खर्च भने अत्यन्त निराशजनक छ । ९ महिनाको अवधिमा सरकारको विकास खर्च २८ प्रतिशत पनि पुगेको छैन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार २०७८ चैत्र ३० गते बुधबारसम्म सरकारले २७.४५ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ । सरकारले एक खर्ब तीन अर्ब ७८ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । गएको वर्षको चैत मसान्तसम्ममा सरकारले विनियोजित पुँजीगत बजेटको २९.९९ प्रतिशत अर्थात् एक खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले गत मंसिरमा पत्रकार सम्मेलन गरेर हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन सकेको छैन् ।
सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको प्रभाव बैंकिङ प्रणालीको तरलता, ब्याजदरलगायत समग्र अर्थतन्त्रमै परेको छ । ढिलागरी बजेट आउनु, बजेटविहीन अवस्था हुनु, प्रणाली तथा संरचनामै समस्या हुनुलगायत कारण पुँजीगत खर्च समयमै हुन नसकेको अर्थ मन्त्रालयले बताउँदै आएको छ ।
केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । चैत्रमसान्तसम्म सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको हो ।
प्रतिस्थापन बजेट मार्फत अर्थमन्त्री शर्माले चालुतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख, पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए ।
यस अवधिमा सरकारले वार्षिक लक्ष्यको साढे ६७ प्रतिशतबराबर राजस्व संकलन गरेको छ । महालेखाका अनुसार चैत मसान्तसम्ममा ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ६७.५९ प्रतिशत हो ।