राष्ट्र बैंकमा दुई सञ्चालक पद रिक्त


काठमाडौं – नेपाल राष्ट्र बैंकका दुई सञ्चालक पद रिक्त भएको छ । सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँचवर्षे कार्यकाल पूरा भएसँगै शुक्रबारदेखि दुई सञ्चालक पद रिक्त भएको हो । सन् २०१७ अप्रिल १६ मा राष्ट्र बैंकको सञ्चालक नियुक्त भएका दुवैजना कार्यकाल पूरा गरेर बाहिरिएका हुन् ।

राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीलाई निलम्बन गरेपछि केन्द्रीय बैंकमा रिक्तता देखिएको हो । सरकारले शुक्रबारदेखि लागू हुने गरी गभर्नर अधिकारीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले एक महिनाभित्र गभर्नर अधिकारीलाई लागेको आरोप उपर अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।

छानबिन समितिले गभर्नरलाई हटाउने सिफारिस दिएमा गभर्नरलाई सरकारले हटाउने छ भने आरोप पुष्टी नभएमा गभर्नर अधिकारी राष्ट्र बैंक फर्कने छन् ।  नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गभर्नर रहने व्यवस्था छ । सरकारले कामू गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको छ ।

पौडेल र रेग्मीको पनि कार्यकाल पूरा हुँदा राष्ट्र चारजनामा सीमित भएको छ । अर्का सञ्चालक सुबोधकुमार कर्णमाथि पनि विदेशबाट आएको शंकास्पद रकम छुटाउन ३० हजार अमेरिकी डलर घुस मागेको आरोप लागेको छ । उनको कार्यकाल एक वर्ष बाँकी छ ।

७ सदस्यीय राष्ट्र बैंकको सञ्चालक समितिमा दुईजना डेपुटी गभर्नर र एकजना अर्थसचिव मात्र हुने छन् । यसले अर्थतन्त्र संकटमा परेको बेला ठूलो नीतिगत निर्णय लिन नसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘राष्ट्र बैंकको संरचनाले गभर्नरलाई अधिकार दिएको छ, त्यसपछिको नीतिगत निर्णय सञ्चालक समितिले गर्नुपर्छ, गभर्नर निलम्बन तथा सञ्चालकको पदावधी सकिने भएको हुँदा राष्ट्र बैंकको काम शुन्यता हुने देखिन्छ,’ केन्द्रीय बैंकका एक उच्च कर्मचारीले भने ।

५ वर्षअघि माओवादी र कांग्रेस सरकारले रेग्मीलाई कांग्रेस कोटाबाट र पौडेललाई माओवादी कोटाबाट राष्ट्र बैंकको सञ्चालक बनाएको थियो ।  रेग्मी पौडेल अहिले कांग्रेस र माओवादीको सरकार रहेको हुँदा पुनः ५ वर्षका लागि सञ्चालकमा दोहरिन खोजेका छन् । यसबाहेक राष्ट्र बैंकबाट अवकास भएका पूर्वकार्यकारी निर्देशकहरुले समेत सञ्चालक बन्नका लागि लविङ गरेका छन् ।

प्रतिक्रिया