नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता
काठमाडौँ– नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ।
मंगलबार काठमाडौं आयोजित एक कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गर्दै दुई दल अब एक भएको घोषणा गरेका हुन्।
एकीकरणपछि पार्टीको नाम नेपाली जनता दल कायम गरिएको छ। एकीकरणपछि हरिचरण शाह पार्टीको राष्ट्रिय अध्यक्ष बनेका छन् भने अनुप पहाडी संघीय परिषद् अध्यक्ष बनेका छन्। त्यसैगरी रघु परियार बरिष्ठ उपाध्यक्ष बनेका सो पार्टीले जनाएको छ।
एकीकरणपछि साविकको नेपाली जनता दलको तर्फबाट १५१ जना र नव नेपाल डेमोक्रेटिक पार्टीको तर्फबाट ५० जना गरी २०१ सदस्यीय संघीय परिषद् निर्माण गरिने एकीकरणपछि जारी विज्ञप्तिमा उल्लेख छ।