

जनकपुरधाममा दर्जनभन्दा बढी मेयरका आकांक्षी

जनकपुरधाम – स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ ।
सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सहितका दलहरूले पनि अहिलेसम्म जनकपुरधामको मेयरको लागि उम्मेदवार घोषणा गर्न सकेका छैनन् । यद्यपि, निर्माण व्यवसायमा संलग्न रमण कन्स्ट्रक्सनका सन्चालक बलराम महतोले भने स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी घोषणा गरेका छन् ।
अकांक्षीहरूले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन् । आबद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड समेत सुरू भइसकेको छ । दलहरूले पनि आन्तरिक रूपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् ।
मधेश प्रदेशमा एक महानगरपालिका र तीन उपमहागरपालिका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयर जितेको थियो ।
महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो । पछि विभाजन हुँदा राजेन्द्र महतोको साथ छाडेर उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे । उपमेयर रिताकुमारी झाले भने ठाकुर–महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन् ।
जनकपुरधाम उपमहानगरपालिकामा मेयरको टिकटका लागि जसपा, लोसपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख दलहरूका स्थानीयदेखि प्रदेश स्तरका नेताहरूले केन्द्रमा लबिङ गरिरहेका छन् । यी प्रमुख दलहरूबाट मेयरका लागि दजनौं आकांक्षी छन् ।
जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलियो छ । हुन त अघिल्लो मत परिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल हो । तर, विभाजित भएपछि उसको शक्ति क्षीण भएको छ । यद्यपि, जनमतको हिसाबले दुबै दल प्रतिस्पर्धी हुन् ।
जसपाबाट मेयरमा तीन जना आकांक्षी
जनता समाजवादी पार्टीबाट जनकपुरको मेयरमा तीन जनाको नाम चर्चामा छ । वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र युवा नेता बजरंग यादव । तर, सत्तारूढ गठबन्धनबाट मेयर टुंगो लागेको भने छैन ।
गत चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमबाट मेयरका प्रत्यासी र हालका जसपाका जनकपुरधाम नगरअध्यक्ष विष्णुदेव साह पनि आगामी स्थानीय निर्वाचनका लागि मेयरका आकांक्षी छन् । तर, मेयर लालकिशोरलाई पुनः सोही पदमा टिकट दिने आश्वासन दिएपछि जसपा रोजेको बताइन्छ ।
मेयर साहको उम्मेदवारी बलियो भएपछि विष्णुदेव मौन देखिएका छन् । तर, मेयरको उम्मेदवारको लागि आफ्नो दावी स्वभाविक रहेको उनको भनाइ छ । ‘म विगतमा पनि मेयर पदको उम्मेदवार थिए । मेयर लालकिशोर हाम्रो दलमै बसेपछि पार्टीको नगर अध्यक्षको हैसियतले उहाँलाई सहयोग गर्दै आएको छु । तर, अहिलेसम्म पार्टीले कसैलाई सिफारिस गरेको छैन । पार्टीले जसलाई सिफरिस गरे पनि स्वीकार्य छ ।’
जसपाबाटै मेयरका लागि बजरंग यादवको नाम चर्चामा छ । तर, अहिलेसम्म पार्टीले कसैलाई सिफारिस भने गर्न सकेको छैन ।
कांग्रेसबाट मनोज र बजरंग साहको चर्चा
कांग्रेसभित्र उम्मेदवारको अकांक्षी धेरै भए पनि बजरंग साह र जनकपुरधाम नगरसभापति मनोज साहको नाम निकै चर्चा छ ।
बजरंग जनकपुरधामका पुर्व मेयर हुन् भने मनोज अघिल्लो निर्वाचनमा मेयर लालकिशोरका निकटतम प्रतिद्वन्दी हुन् । हुनतः अहिलेसम्म जनकपुरधाम उपमहानगरमा कांग्रेसले एकपटक पनि चुनाव जित्न सकेका छैनन् । कांग्रेसकै नेताले स्वतन्त्र उम्मेदवारी दिएर दुईपटक मेयर जितेको इतिहास पनि छ । तत्कालिन समयमा बजरंग कांग्रेसमै आबद्ध थिए । तर, पार्टीले उनलाई टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव जिते र पछि फेरि कांग्रेसमै फर्के ।
यसैगरी, जनकपुरका तत्कालिन मेयर तथा अहिले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लाल कांग्रेसमै आबद्ध थिए । तर, पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट मेयरमा जितेका थिए ।
मनोजभन्दा बजरंग पार्टीमा सिनियर नेता भए पनि पार्टीभित्र मनोजको राम्रो पक्कड छ । कांग्रेस नेता बिमलेन्द्र निधीनिकट मनोज जिल्ला अधिवेशनमा सभापति योगेन्द्र पजियारतर्फ खुलेर लागेका थिए । टिकट वितरणमा निधीनिकट सभापति पजियारको दबदबा हुने भएकोले मनोजलाई टिकट पाउने गह्रो छैन । यता पार्टीले आफूलाई टिकट नदिए स्वतन्त्र रूपमा भए पनि मेयरमा उम्मेदवारी दिने बजरंग साहको चाहना छ । कांग्रेस जनकपुर नगरका उपसभापति राकेशविक्रम साह, युवा नेता संजिव साह पनि मेयरका अकांक्षी देखिएका छन् ।
सत्तारूढ गठबन्धन दलहरूबीच टिकट बाँडफाट नहुँदा पनि जनकपुर कुन पार्टीको भागमा पर्ने यकिन भएको छैन । स्रोतका अनुसार जनकपुरधाम जसपा नछोडने अडानमा छ भने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन ।
लोसपाबाट प्रदेश सांसदसहित चार जनाको चर्चामा
महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको लोसपाबाट जनकपुरको मेयर÷उपमेयरमा पाँच पाँच जनाको नाम सिफारिस भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका नगर समितिको आइतवार बसेको बैठकले मेयर र उपमेयर दुवै पदका लागि पाँच पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
मेयरमा नगर अध्यक्ष चौधरीसहित प्रदेशसभा सदस्य परमेश्वर साह, वडाध्यक्ष जानकीराम साह, अमर पजियार र संजय चौधरीको नाम सिफारिस भएको छ ।

