

रुसबाट हुने आयातमा युक्रेनले गर्यो पूर्ण प्रतिबन्ध

काठमाडौं – रुसबाट गरिने सामानहरुको आयातमा युक्रेनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । युद्धले जटिल रुप लिँदै गरेपछि युक्रेनले सो निर्णय गरेको हो । रुसले वार्षिक रुपमा युक्रेनमा करिब ६ अर्ब डलर बराबरको कारोबार गर्ने गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्वीरडेनकोले आफ्नो फेसबूक पेज मार्फत रुससँग आधिकारिक रुपमा व्यापार बन्द गरेको घोषणा गरेकी थिइन् ।
“अब आउने समयमा रुसका कुनै पनि सामाग्री युक्रेन भित्र आउन दिइने छैन । हाम्रो देशको दुश्मनले अब देखि आफ्नो बजेटमा युक्रेनी पैसा जोड्न सक्ने छैन । व्यापार प्रतिबन्ध गर्नाले रुसको युद्धका लागि आवश्यक पर्ने वित्त कम गर्न सघाउने छ ।”
फेबु्रअरी २४मा रुसले युक्रेनमाथि विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि रुस र युक्रेनबीच व्यापार शून्य जस्तै भएको थियो । युक्रेनी अर्थमन्त्री युलियाले आधिकारिक रुपमा नै व्यापार बन्द गर्ने बताएकी छिन् । यसका साथै उनले पश्चिमा देशहरुलाई रुस तथा रुसी बैंकमाथि कडा आर्थिक प्रतिबन्ध लगाउन अनुरोध पनि गरेकी छिन् ।

